राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 Magh माघ

२०७० माघ २९

सम्माननीय राष्ट्रपति र नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशील कोइराला बीच आज राष्ट्रपतिको कार्यालयमा औपचारिक भेटवार्ता भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्रीलाई कार्यालयमा स्वागत गर्नु हुँदै उहाँको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

सम्माननीय राष्ट्रपतिले सो अवसरमा नवगठित सरकारले देहायका विषयमा ध्यान दिनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ः
१.दलहरुको एक वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धतालाई पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्ने ।
२.संविधान निर्माण लगायत सरकार सञ्चालनमा सकेसम्म सबै शक्तिलाई विश्वासमा 
लिने । सहमतिका आधारमा सरकार सञ्चालन गर्न सक्दो प्रयास गर्ने ।
३. शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पुरा गरी पीडितलाई न्याय दिने ।
४.पहिलो संविधानसभा विघटन पछि अवरुद्ध भएका कामहरु, जस्तै न्यायालय र संवैधानिक निकायका पदाधिकारी नियुुक्त गरी ती निकायहरुलाई यथाशक्य चाँडो पूर्णता दिने ।
५. राज्यका सबै अंगहरुको आपसी मर्यादा कायम गर्न गराउन ध्यान दिने ।
६. संविधान तथा संवैधानिक सिद्धान्तको परिपालनामा जोड दिने 
७. सुशासन कायम गर्नमा जोड दिने, जस्तै– (क) शान्ति सुरक्षाको प्रत्याभूति गर्ने 
(ख) भ्रष्टाचार नियन्त्रण गर्ने (ग) कानूनको शासन कायम गरी जनतामा न्यायको अनुभूति दिलाउने । (घ) महँगी नियन्त्रण गर्ने उपायहरु अविलम्ब अपनाउने । (ङ) जनतामा पुर्याउने सेवाको प्रभावकारितामा विशेष ध्यान दिने ।
आज्ञाले

(वासुदेव दाहाल)
प्रवक्ता
मितिः २०७० माघ २९ गते बुधबार ।  

२०७० माघ २८ TUESDAY

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष मार्फत महान्यायाधिवक्ता श्री द्रोणराज रेग्मीले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३४ को उपधारा (३) को खण्ड (क) बमोजिम आज मिति २०७०।१०।२८ मा महान्यायाधिवक्ताको पदबाट लिखित राजीनामा दिनु भएको हुँदा आजैका मिति देखि महान्यायाधिवक्ताको पद रिक्त हुन गएको छ ।

सम्माननीय राष्ट्रपतिबाट उहाँले सो पदमा रही सम्पादन गर्नु भएको कार्यप्रति हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

आज्ञाले,

(वासुदेव दाहाल)
प्रवक्ता
मितिः २०७० माघ २८ गते मंगलबार ।

२०७० माघ २८

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम सम्वत् २०६९ साल चैत्र १ गते जारी भएको वाधा अड्काउ फुकाउ आदेश बमोजिम सोही मितिमा सम्माननीय प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठन भएको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले आफूलाई तोकेको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोले अन्तरिम चुनावी मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मी एवं वहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुलाई सम्माननीय राष्ट्रपतिले धन्यवाद दिनु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

आज्ञाले,


(वासुदेव दाहाल)
प्रवक्ता
मितिः २०७०/१०/२८  

२०७० माघ ०५

आज २०७० साल माघ ५ गते सम्माननीय राष्ट्रपति डा. रामवरण यादव र नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष श्री झलनाथ खनाल तथा एनेकपा (माओवादी)का अध्यक्ष श्री पुष्पकमल दाहालबीच राष्ट्रपतिको कार्यालयमा भेटवार्ता सम्पन्न भयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिले व्यवस्थापिका संसदको अधिवेशन अविलम्ब आह्वान गरी विगतमा चालिएका संवैधानिक र कानूनी कदमहरु अनुमोदन गराई अन्तरिम संविधानलाई पूर्ववत् अवस्थामा पुनस्र्थापित गर्न दलका नेताहरुको ध्यानाकर्षण गराउनु भयो । साथै उहाँले संविधान सभा÷व्यवस्थापिका संसद गठन भइसकेको सन्दर्भमा यथाशीघ्र जनप्रतिनिधिहरुको सरकार गठन गर्ने पहल गर्न पनि प्रमुख दलका नेताहरुलाई आग्रह गर्नु भयो । 
सम्माननीय राष्ट्रपतिले संविधान निर्माण नभएसम्म सबै दलहरु मिलेर अघि बढ्नु अहिलेको आवश्यकता हो भन्ने कुरा पनि दलका नेताहरुलाई स्मरण गराउनु भयो ।
नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम संविधान सभामा मनोनित गरिने सदस्यको छनोट गर्दा संविधान निर्माणमा योगदान गर्न सक्ने विज्ञ, लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत गर्ने कार्यमा योगदान पु¥याएका विशिष्ट राष्ट्रिय व्यक्तित्व तथा पिछडिएको वर्ग, क्षेत्र, समुदायका व्यक्तिलाई प्राथमिकता दिन पनि सम्माननीय राष्ट्रपतिले दलका नेताहरुलाई सुझाव दिनु भयो ।
नेपाली जनताले ठूलो उत्साहका साथ निर्वाचनमा भाग लिई लोकतन्त्र, शान्ति र संबृद्ध नेपालको पक्षमा आफ्नो मत जाहेर गरेको र संविधान निर्माण तथा सुशासनको प्रत्याभूति मार्फत् जनचाहनाको कदर गर्नु राजनीतिक दलहरुको दायित्व भएको कुरा समेत सम्माननीय राष्ट्रपतिले उल्लेख गर्नु भयो ।

आज्ञाले,


(वासुदेव दाहाल)
मितिः २०७० साल माघ ५ गते प्रवक्ता 

२०७० माघ २८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहकाबीच व्यवस्थापिका–संसदबाट नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।


सोही समारोहमा सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त माननीय मन्त्री रामशरण महतलाई आफ्नो पद तथा गोपनीयताको शपथ गराउनु भयो ।


सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष श्री खिलराज रेग्मी, सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, संविधानसभाका सम्माननीय अध्यक्ष सूर्यबहादुर थापा, संविधानसभाका माननीय सभासद्हरू, राजनीतिक दलका प्रमुख तथा शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका विशिष्ट अधिकृतहरू, कूटनीतिक नियोगका प्रमुखहरू तथा सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

आज्ञाले,

(वासुदेव दाहाल) 
प्रवक्ता


मिति २०७० माघ २८ गते मंगलबार । 

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति