राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 FAGUN फागुन

२०७० फागुन १८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री सुशील कोइराला म्यानमारको ने. पि. टो. मा आयोजना हुने बिम्स्टेक सदस्यहरुको तेश्रो शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संवत् २०७० साल फागुन १८ गते आइतबार म्यानमारतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री बामदेव गौतमले सम्हाल्ने गरी तोक्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(कृष्णप्रसाद लम्साल)
सहसचिव

२०७० फागुन ८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११७ को उपधारा (१) बमोजिम सर्वोच्च अदालतको आ.व. २०६९/७० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

सम्माननीय राष्ट्रपतिले सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू लगायत उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको सो अवसरमा मुलुकको न्याय प्रणालीलाई विश्वसनीय र सक्षम बनाउन गरेको प्रयत्नका लागि सर्वोच्च अदालतलाई धन्यवाद दिनु भयो । 

आज्ञाले,

वासुदेव दाहाल)
प्रवक्ता

२०७० फागुन १३

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले आज राष्ट्रपति भवन, शीतलनिवासमा उपप्रधान एवं गृहमन्त्री माननीय वामदेव गौतम; उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री माननीय प्रकाशमान सिंह; भौतिक पूर्वाधार तथा यातायत मन्त्री माननीय विमलेन्द्र निधी; कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री माननीय नरहरि आचार्य; वन तथा भू–संरक्षण मन्त्री माननीय महेश आचार्य; शिक्षा मन्त्री माननीय चित्रलेखा यादव; सूचना तथा सञ्चार मन्त्री माननीय डा. मिनेन्द्रप्रसाद रिजाल; ऊर्जा मन्त्री माननीय राधाकुमारी ज्ञवाली; सिंचाइ मन्त्री माननीय नारायणप्रकाश साउद; सहरी विकास मन्त्री माननीय डा. नारायण खड्का; परराष्ट्र मन्त्री माननीय महेन्द्रबहादुर पाण्डे; स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय खगराज अधिकारी; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय भिमप्रसाद आचार्य; सामन्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डित; भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय दलबहादुर राना; उद्योग मन्त्री माननीय कर्णबहादुर थापा; कृषि विकास मन्त्री माननीय हरिप्रसाद पराजुली; युवा तथा खेलकूद मन्त्री माननीय पुरुषोत्तम पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।


सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, सम्माननीय संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङ्, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू र राजनीतिक दलका नेताहरू समेतको उपस्थिति रहेको थियो ।
 

(वासुदेव दाहाल)
प्रवक्ता

२०७० फागुन ७

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच संविधानसभाबाट नव निर्वाचित सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

सो समारोहमा सम्माननीय उपराष्ट्रपति परमानन्द झा, सम्माननीय प्रधानमन्त्री सुशील कोइराला, सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, संविधानसभाका जेष्ठ सदस्य अध्यक्ष सूर्यबहादुर थापा, संविधानसभाका माननीय सभासद्हरू, राजनीतिक दलका प्रमुख तथा शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका विशिष्ट अधिकृतहरू, कूटनीतिक नियोगका प्रमुखहरू तथा सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

आज्ञाले,

(वासुदेव दाहाल) 
प्रवक्ता
मिति २०७० फागुन ७ गते बुधबार ।

२०७० फागुन ५

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३४ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बाबुराम कुँवरलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्ति गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।


(दामोदर संजेल)
उपसचिव

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति