राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 ASOJ (असोज)

२०७० असोज २२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बानेश्वर काठमाडौं निवासी

डा. निरञ्जनमान सिंह बस्न्यातलाई मलेसियाको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(वासुदेव दाहाल)
प्रवक्ता

२०७० असोज १०

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्र संघ महासभाको ६८ औं नियमित अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मिति २०७० साल असोज १० गते बिहीबार अमेरिकातर्फ प्रस्थान गर्नु हुने भएकोले मन्त्रिपरिषद्का अध्यक्षको अनुपस्थितिमा मन्त्रिपरिषद्का अध्यक्षले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम मन्त्रिपरिषद्का अध्यक्षको सिफारिसमा माननीय गृह एवं परराष्ट्रमन्त्री श्री माधवप्रसाद घिमिरेले सम्हाल्ने गरी तोक्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(वासुदेव दाहाल)
प्रवक्ता

२०७० असोज १

"संविधानसभाबाट संविधानको निर्माण कार्य सम्पन्न नहुँदै संविधानसभा स्वतः विघटन भई व्यवस्थापिका-संसद्समेत कायम नरहेकोले नेपाली जनताले आफ्नो लागि आफैं संविधान बनाउने अधिकारको प्रत्याभूतिका लागि अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०६९ साल चैत १ गते नेपालको अन्तरिम संविधान, २०६३ (यसपछि "संविधान" भनिएको) को धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी भएको र सो आदेशको प्रकरण नं. १० मा संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (ख) मा संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीअनुसार तीन सय पैंतीस सदस्य निर्वाचित हुने व्यवस्था भएकोमा अर्को संविधानसभाको प्रयोजनका लागि समानुपातिक निर्वाचन प्रणालीअनुसार दुई सय चालीस जना सदस्य निर्वाचित हुने गरी र प्रकरण नं. ११ मा संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (ग) मा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूमध्येबाट मन्त्रिपरिषद्‍बाट छब्बीस जना मनोनयन गर्ने व्यवस्था भएकोमा अर्को संविधानसभाको प्रयोजनका लागि एघार जना मनोनयन गर्ने भन्ने व्यवस्था भएकोमा, 

उल्लिखित आदेशको व्यवस्थाबाट संविधानसभाको निर्वाचनमा महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेसीलगायत अन्य वर्गसमेतको प्रतिनिधित्व र सहभागिता साविककोभन्दा अनुपात एवं प्रतिशत कम भई पूर्णरूपमा सुनिश्चित नभएको भनी विभिन्न क्षेत्र, समुदाय, राजनीतिक दलसमेतबाट सुझाव एवं माग प्राप्त भएको र अब हुने संविधानसभाको निर्वाचन पनि यसअघिको संविधानसभालाई निरन्तरता दिने उद्देश्यले हुने भएकोले उक्त सुझाव र मागसमेतलाई बिचार गरी सो सम्बन्धमा विभिन्न राजनीतिक दलहरूसँग भएको वार्ता तथा राजनीतिक दलहरूबीच भएको सहमतिसमेतका आधारमा उक्त मागलाई सम्बोधन गरी समावेशी र सहभागितामूलक व्यवस्थालाई पूर्ववत राखी संविधानसभाको निर्वाचनलाई सुनिश्चित गर्न बाधा परी सो बाधा फुकाउन बाञ्छनीय भएकोले, 
अर्को संविधानसभा सदस्यको निर्वाचनबाट गठन हुने संविधानसभामा सम्वत् २०६९ साल चैत १ गते संविधानको धारा 158 बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी हुनुभन्दा अघि संविधानको धारा ६३ को उपधारा (३) बमोजिम कायम रहेको संविधानसभाको सदस्य सङ्ख्या छ सय एक रहने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संविधानको धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउन नेपाल राजपत्र खण्ड ६२, अतिरिक्ताङ्क २४, चैत १, २०६९ मा प्रकाशित बाधा अड्काउ फुकाउन जारी भएको आदेशको प्रकरण नं. १० र ११ खारेज गर्ने गरी यो आदेश जारी भएको छ ।"
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम मन्त्रिपरिषद्को सिफारिसको आधारमा उपर्युक्त आदेश जारी भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ
आज्ञाले,

(त्रैलोक्यराम आचार्य)
सह– प्रवक्ता

२०७० असोज ८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम नेपाली जनताले अर्को संविधानसभाको निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित एवं भयमुक्त वातावरणमा सहभागी हुन पाउने अधिकारको प्रत्याभूतिका लागि राष्ट्रिय सुरक्षा परिषद्‌बाट भएको सिफारिस बमोजिम निर्वाचन अवधिभर नेपाली सेनाको परिचालन समेत गरी निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न वाञ्छनीय भएको र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४५ को उपधारा (५) मा प्राकृतिक विपत् परेको कारणले नेपाली सेना परिचालन भएकोमा बाहेक सेना परिचालन सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट भएको निर्णय एक महिनाभित्र व्यवस्थापिका-संसदले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनु पर्नेछ भन्ने व्यवस्था भएकोमा हाल व्यवस्थापिका-संसदले तोकेको विशेष समितिबाट अनुमोदन हुन सक्ने अवस्था नभई बाधा उत्पन्न भएकोले अर्को संविधानसभाको निर्वाचन भई व्यवस्थापिका-संसदले तोकेको विशेष समितिबाट एक महिनाभित्र अनुमोदन गराउने गरी राजनीतिक सहमति समेतका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मिति २०७०/०६/०८ गते बाधा अड्काउ फुकाउन आदेश जारी भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । 

आज्ञाले,

(वासुदेव दाहाल)
सहसचिव

२०७० असोज २

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम देहाय बमोजिमको अध्यादेश प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

सि.नं.
१. संविधानसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०७०

आज्ञाले,

(मणिराम ओझा)
सहसचिव

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति