राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 POUSH (पुस)

२०६९ पुस २६

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै आज पुनः थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल माघ १ गते सोमबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०६९ पुस २४

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा स्टेट अफ इजरायलका लागि आवासीय नेपाली राजदूत श्री प्रल्हादकुमार प्रसाईलाई गणतन्त्र साइप्रसका लागि गैर आवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०६९ पुस २७

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज विहान विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई शीतलनिवासमा आमन्त्रण गरी मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सहमति गर्न पुनः अनुरोध गर्नु भयो ।

१९ दलका प्रमुख एवं शीर्ष नेताहरुलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिले त्यस अवसरमा “मुलुकले आज सामना गर्नु परेका राजनीतिक अन्यौल र संवैधानिक गतिरोध लगायतका समस्याहरु थप जटील बन्न नपाउन्” भनी आग्रह गर्नु भयो । वहाँले न्यूनतम सहमतिको बाटो र यथाशीघ्र नयाँ संविधान निर्माणको लागि संविधान सभाको निर्वाचनको प्रत्याभूति गर्न अपनाउनु पर्ने निर्णय प्रक्रिया र नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) अनुसार प्रधानमन्त्रीको नियुक्ति र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न छिट्टै सहमतिमा पुग्न विशेष जोड दिनु भयो  ।

त्यस्तै संवैधानिक निकायहरु तथा सर्वोच्च अदालतमा पदाधिकारीहरु/न्यायाधीशहरु नियुक्त गर्न अपनाउनु पर्ने उपाय र विधि तथा संवैधानिक÷राजनैतिक गतिरोधको अन्त्यका निम्ति राष्ट्रपतिले अवलम्बन गर्नु पर्ने वा गर्न सक्ने अन्य कुनै लोकतान्त्रिक सिद्धान्त, प्रचलन वा उपायहरु बारे गम्भीरता पूर्वक विचार गरी सुझाव दिन र राजनीतिक निकासका लागि सबै नेताहरुको ध्यानाकर्षण गराउनु  भयो ।


सो अवसरमा विभिन्न दलका नेताहरुले आ–आफ्नो धारणा राख्दै छिट्टै सहमतिमा पुगी राजनीतिक अन्यौल र संवैधानिक गतिरोध हटाउने प्रतिवध्दता जनाउनु भयो ।  
सो अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, एनेकपा (माओवादी) का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड”, नेपाली कांग्रेसका वरिष्ठ नेता श्री शेरबहादुर देउवा र उप सभापति श्री रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष श्री झलनाथ खनाल र वरिष्ठ नेता श्री माधवकुमार नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, एनेकपा (माओवादी) का नेता श्री अमिक शेरचन, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष श्री उपेन्द्र यादवको उपस्थिति थियो ।


यसै गरी नेकपा (माले)का महासचिव श्री चन्द्रप्रकाश मैनाली, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष श्री नारायणमान विजुक्छे “रोहित”, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति शमशेर राणा, राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक)का नेता श्री रामेश्वरराय यादव, नेकपा–माओवादीका नेताद्वय श्री देव गुरुङ्ग र श्री पम्फा भुसाल, सद्भावना पार्टीका अध्यक्ष श्री राजेन्द्रप्रसाद महतो, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष श्री महेन्द्रप्रसाद यादव, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष श्री राजकिशोर यादव, नेकपा (संयुक्त)का अध्यक्ष श्री चन्द्रदेव जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष श्री कमल थापा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष श्री शरतसिंह भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष श्री चित्र बहादुर के.सी. र संघीय सदभावना पार्टीका नेता श्री शिवप्रसाद पटेल समेतको उपस्थिति रहेको थियो । 
                                   

आज्ञाले,   
(हरिकुमार श्रेष्ठ)
  प्रवक्ता

२०६९ पुस २१

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल पौष २० गते शुक्रबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै आज पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष २५ गते बुधबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।


आज्ञाले

(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०६९ पुस ०९

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीको निमन्त्रणाका साथै वनारस हिन्दू विश्वविद्यालयबाट प्रदान गरिने “डक्टर अफ लेटर्स” सम्मान ग्रहण गर्न औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०६९ साल पौष ९ गते वनारसतर्फ प्रस्थान गर्नु हुने भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यहरु नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ छ. को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति