राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 JETH (जेठ)

२०६९ जेठ १६

१. नेपाल सरकार, मन्त्रिपरिषद् (मं.प.वै.सं. १३/०६९) को बैठकद्वारा “नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम संविधानसभाको कार्यकाल मिति २०६९ साल जेठ १४ गते सम्म भएको र संविधान निर्माणको कार्यलाई पूर्णता प्रदान गर्न बाँकी नै रहेकोले सर्वोच्च अदालत, विशेष इजलासको रिट नं. ०६८–WS–००१४ मिति २०६८ साल मंसिर ९ गतेको आदेशले संविधानसभाको कार्यकाल २०६९ साल जेठ १४ गते स्वतः समाप्त हुने हुँदा संविधान निर्माण कार्यलाई पूर्णता प्रदान गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न आवश्यक भएकोले संविधानको धारा ६३ (२) बमोजिम अर्को संविधानसभाको निर्वाचन मिति २०६९ मंसिर ७ गते बिहीबार गर्ने गरी तोकिएको छ” भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मिति २०६९/२/१४ मा श्री सचिव निर्वाचन आयोगलाई लेखिएको पत्रको वोधार्थ पत्र मिति २०६९/२/१४ गते राती २३:२५ बजे यस कार्यालयमा प्राप्त भएको ।

 २. तत्कालीन संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले “नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम सम्वत् २०६४ साल चैत्र २८ गते सम्पन्न आमनिर्वाचन भई गठित संविधानसभाको कार्यावधि आज २०६९/२/१४ सम्म रहेको, संविधान निर्माणको क्रममा टुङ्गो लाग्न बाँकी विषयहरुमा सहमती कायम हुन नसकि संविधानसभा अन्तर्गतको संवैधानिक समितिबाट संविधानको पहिलो मसौदा तयार हुन नसकेको कारण कार्यसूचीको अभावमा आज निर्धारित संविधानसभाको वैठक बस्नु पर्ने आवश्यकता नै भएन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ मा संशोधन गरी संविधानसभाको कार्यकाल तीन महिना थप गर्नको लागि नेपाल सरकारद्वारा मिति २०६९/२/९ मा दर्ता गरिएको नेपालको अन्तरिम संविधान तेह्रौं संशोधन विधेयक, २०६९ नेपाल सरकारले आजै फिर्ता लिएको कारण आजको लागि निर्धारित व्यवस्थापिका–संसदको बैठक समेत बस्नु पर्ने औचित्य रहेन । यस परिवेशमा नेपाल सरकार मन्त्रिपरिषद्को आजै बसेको बैठकबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ (२) बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न मिति २०६९ मंसिर ७ गते बिहीबारको मिति तोकेको भन्ने जानकारी समेत प्राप्त हुन आएको अवस्था छ । यस स्थितिमा सम्वत् २०६५ साल जेठ १५ गते देखि प्रारम्भ भएको संविधानसभाको बैठक तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा कार्य गरी आएको र यही २०६९ जेठ ४ गते देखि प्रारम्भ भएको व्यवस्थापिका–संसदको एघारौं अधिवेशन समेत आज राती १२:०० बजे देखि स्वतः समाप्त भएको” भनी मिति २०६९/२/१४ मा सम्माननीय राष्ट्रपतिज्यूलाई संबोधन गरी लेख्नु भएको पत्र मिति २०६९/२/१५ गते विहान ००:१० को समयमा यस कार्यालयमा प्राप्त हुन आएको । 

३. उपर्युक्त व्यहोराबाट संविधानसभाको कार्यकाल नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम सम्वत् २०६९ साल जेठ १४ गते रातको १२:०० बजे देखि स्वतः समाप्त भएको र संविधानसभाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा काम गर्न सक्ने अवस्था समेत स्वतः नरहेको । 

४. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने विभिन्न ४ वटा अवस्था उल्लेख गरिएका र सो उपधाराको खण्ड (ख) मा “निज व्यवस्थापिका–संसदको सदस्य नरहेमा” भन्ने वाक्याश रहेको छ । माथिको व्यहोराबाट संविधानसभा र व्यवस्थापिका–संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका–संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उमेदवार बनी निर्वाचित हुनु भएका तत्कालीन संविधानसभाका माननीय सदस्य डा. श्री बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्ति सँगसँगै स्वतः समाप्त हुन गएको । 

५. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) मा “उपधारा (७) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहनेछ” भनी उल्लेख भएको हुँदा सम्माननीय राष्ट्रपतिले सम्वत् २०६८ साल भाद्र १२ गतेका दिन तत्कालीन संविधानसभाका माननीय सदस्य डा. श्री बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराउनु भएको छ । यो मन्त्रिपरिषद्द्वारा सम्पादन गरिएका कार्यहरुका निम्ति सम्माननीय राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद दिनु भएको छ । 

६. सम्माननीय राष्ट्रपतिले देशको पछिल्लो परिस्थिति प्रति विशेष जिम्मेवारी बोध गर्दै अन्तरिम संविधान, २०६३ को मर्म अनुरुप राजनीतिक सहमति र सहकार्यको संस्कृतिलाई प्रोत्साहित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नु भएको छ । संविधानसभाको अनपेक्षित अवसानका कारण उत्पन्न राजनीतिक अन्यौलको निकास शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै पहिल्याइने विश्वास पनि सम्माननीय राष्ट्रपतिले व्यक्त गर्नु भएको छ ।

२०६९ जेठ १५

 सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५२ को उपधारा ९१० बमोजिम गणतन्त्र दिवस, २०६९ को अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका १६४ जना महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई राष्ट्रगौरव, डा. हर्कबहादुर गुरुङ्ग (मरणोपरान्त), श्री रामराजा प्रसाद सिंह र श्रीमती साहना प्रधानलाई महाउज्ज्वल राष्ट्रदीप मानपदवी प्रदान गर्नु भएको र अन्य मानपदवी, अलङ्कार र पदकको नाम तथा प्राप्त गर्ने महानुभावहरुको संख्या तपसिल बमोजिम रहेको छ ।

सि.नं. मानपदवी प्राप्त गर्ने महानुभावको संख्या
राष्ट्र गौरव
महाउज्ज्वल राष्ट्रदीप
सुप्रवल जनसेवाश्री ५०
प्रवल जनसेवाश्री ४७
जनसेवाश्री १४
 
सि.नं. अलङ्कार प्राप्त गर्ने महानुभावको संख्या
नेपाल प्रताप सुभूषण
अति पौरख भास्कर
नेपाल प्रताप आभूषण
नेपाल प्रताप भूषण
 
 
 
सि.नं. पदक प्राप्त गर्ने महानुभावको संख्या
सत्कार्य पदक
समाजसेवा पदक
शिक्षाज्योति पदक
सगरमाथा पदक
 ५ सुकीर्ति पदक ११
 ६ सौर्य पदक
 ७ विकासरत्न पदक
 

२०६९ जेठ १४

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवस, २०६९ को उपलक्ष्यमा विभिन्न कारागारमा रहेका २३२ (दुई सय बत्तीस) जना कैदीहरुको बाँकी कैद माफी गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति