राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६८ [2068] » 2068 KARTIK (कार्तिक)

२०६८ कार्तिक २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री  डा. बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिक्षा मन्त्री माननीय  श्री दीनानाथ शर्मा; पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री लोकेन्द्र विष्ट मगर; भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय श्री भीमप्रसाद गौतम; सामान्य प्रशासन मन्त्री माननीय श्री रामकुमार यादव; श्रम तथा यातायात व्यवस्था मन्त्री माननीय श्री सरिता गिरी; विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री कल्पना धमला र शान्ति तथा पुनर्निमाण मन्त्री श्री सत्या पहाडीलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

सो समारोहमा संविधान सभाका सम्माननीय सभाअध्यक्ष श्री सुवाषचन्द्र नेम्वाङ्ग, राजनीतिक दलका नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०६८ कार्तिक १४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यावदले सम्माननीय उप–राष्ट्रपति श्री परमानन्द झाको माता राधादेवी झाको मिति २०६८ कार्तिक १३ गते आइतवारका दिन असामयिक स्वर्गारोहण भएको दुखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सम्माननीय उप–राष्ट्रपतिलाई शोक सन्देश पठाई वहाँ र परिवारका अन्य सदस्यहरूमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

२०६८ कार्तिक ३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा संवत् २०६८ साल कार्तिक ३ गते विहीबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उप–प्रधानमन्त्री एवं गृह र रक्षामन्त्री श्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोक्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति