राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६८ [2068] » 2068 JESTHA (जेष्ठ)

२०६८ जेष्ठ १२ गते

आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष श्री झलनाथ खनाल, एनेकपा माओवादीका अध्यक्ष  श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालासँग राष्ट्रपति भवन, शीतलनिवासमा सामूहिक भेटघाट गर्नु भयो ।

उक्त सामूहिक भेटमा सम्माननीय राष्ट्रपतिज्यूले शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा जिज्ञासा राख्नु भई सहमतिका आधार अघि बढाउन आग्रह गर्नुभएको थियो । साथै तीन दलका शीर्ष नेताहरुले आ–आफ्ना धारणा सहित सहमति कायम गर्न प्रयास भैरहेको जानकारी गराउनुभएको थियो ।

२०६८ जेष्ठ ६ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष नेपाल राज्यका महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले आज राष्ट्रपति भवन, शीतलनिवासमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३६ को उपधारा (१) बमोजिम महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०६६/२०६७ पेश गर्नु भयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिले कानुनको शासन कायम गर्ने लोकतान्त्रिक मूल्य र मर्यादामा महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग पुग्ने धारणा राख्दै महान्यायाधिवक्ता तथा उपस्थित सबैलाई धन्यवाद दिनु भयो ।

२०६८ जेष्ठ ५ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग व्यवस्थापिका–संसदका सम्माननीय सभामुख श्री सुवासचन्द्र नेम्वाङ्गले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नुभयो । 

भेटका अवसरमा वहाँहरुबीच विविध समसामयिक विषयमा छलफल भएको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति