राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६८ [2068] » 2068 Bhadra (भाद्र)

२०६८ भाद्र ३१ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा नियमित भेट गर्नु भयो ।

भेटका अवसरमा वहाँहरू बिच शान्ति प्रक्रिया, संविधान निर्माण तथा संयुक्त राष्ट्र संघको महासभामा भाग लिने लगायत अन्य समसामयिक विषयहरूमा छलफल भएको थियो । 

२०६८ भाद्र २९ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा रक्षा मन्त्री माननीय श्री शरतसिंह भण्डारी; सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री माननीय श्री गोपाल किराती; वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री लेखराज भट्ट; उद्योग मन्त्री माननीय श्री अनिलकुमार झा; कानून तथा न्याय मन्त्री माननीय श्री वृजेशकुमार गुप्ता र वातावरण मन्त्री माननीय श्री हेमराज तातेडलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय उपप्रधानमन्त्री, माननीय मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंङ्गी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरु र राजनीतिक दलका नेताहरू समेतको उपस्थिति रहेको थियो ।

२०६८ भाद्र २८ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि नर्वेका आवासीय राजदूत
H.E. Mr. Thor Gislesen ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । 

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Mr. Thor Gislesen लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको थप विस्तारका लागि पु-याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

२०६८ भाद्र २३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३४ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री मुक्तिनारायण प्रधान, भीमेश्वर नगरपालिका वडा नं. २ दोलखालाई नेपालको महान्यायाधिवक्ता नियुक्ति गर्नुभएको छ ।

आजै सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मीबाट नवनियुक्त महान्यायाधिवक्ता श्री मुक्तिनारायण प्रधानलाई महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ गराउनु भयो । 

२०६८ भाद्र १८ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री  डा. बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त उपप्रधान एवम् परराष्ट्र मन्त्री माननीय श्री नारायणकाजी श्रेष्ठ, सूचना तथा सञ्चार मन्त्री माननीय श्री जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना तथा निर्माण; कानुन तथा न्याय मन्त्री माननीय श्री हृदयेश त्रिपाठी, उर्जा मन्त्री माननीय श्री पोष्टबहादुर बोगटी, स्थानीय विकास मन्त्री माननीय श्री टोपबहादुर रायमाझी, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री राजेन्द्र महतो, अर्थ मन्त्री माननीय श्री वर्षमान पुन, सिंचाई;  महिला, बालबालिका तथा समाजकल्याण मन्त्री माननीय श्री महेन्द्रप्रसाद यादव, भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय श्री प्रभु साह, कृषि तथा सहकारी मन्त्री माननीय श्री नन्दनकुमार  दत्त, युवा तथा खेलकुद मन्त्री माननीय श्री कमला रोका, माननीय मन्त्री श्री राजलाल यादव (कार्यभार पछि तोकिने) र वन तथा भू–संरक्षण मन्त्री माननीय श्री मोहम्मद वकिल मुसलमानलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्ग, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरु र राजनीतिक दलका नेताहरू समेतको उपस्थिति रहेको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति