राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७३ » २०७३ जेठ

२०७३ जेठ ३० गते आइतबार

मिति २०७३ साल जेठ ३० गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका Lions Clubs International का प्रथम उपाध्यक्ष Lion Robert "BOb" E. Corlew ले शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा नेपालको शिक्षा, स्वास्थ्य (विशेष गरी महिला स्वास्थ्य तथा सुरक्षित मातृत्व), वातावरण संरक्षण तथा गत वर्षको विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण जस्ता सामाजिक क्षेत्रमा Lions Clubs International ले निर्वाह गरेको सहयोगात्मक भूमिका लगायतका विषयमा छलफल हुनुका साथै सम्माननीय राष्ट्रपतिज्यूले Lions Clubs International ले नेपालमा पुर्‍याएको योगदानको सराहना गर्नुहुँदै प्रथम उपाध्यक्ष Lion Robert "BOb" E. Corlew लाई Lions Clubs International को आगामी अन्तर्राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष हुन लाग्नु भएकोमा बधाई तथा शुभकामना समेत दिनुभयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालय सम्बद्ध उच्च अधिकारीहरु तथा Lions Clubs International, Nepal का विभिन्न Lions पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
 
  
  (ध्रुवराज आचार्य)
 सहायक प्रवक्ता

२०७३ जेठ २८ गते शुक्रबार

मिति २०७३ साल जेठ २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र स्वीटजरल्याण्डका महामहिम राजदूत Dr. Urs Herren ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र हित लगायतका बिषयमा छलफल भएको तथा महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको भूमिकाप्रति सम्माननीय राष्ट्रपतिले सराहना गर्दै महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल लगायत नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ जेठ २७ गते बिहीबार

मिति २०७३ साल जेठ २७ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र होली सीका गैरआवासीय राजदूत H.E. Mr. Archbishop Salvatore Pennacchio ले शिष्टाचार भेट गर्नुभयो । भेटमा नेपाल र होली सीबीचको सुमधुर कुटनीतिक सम्बन्ध, भ्रातृत्व तथा सामाजिक-आर्थिक विकासमा दुई देशले खेलेको भूमिका तथा प्रतिबद्धता एवम् आपसी सहयोग र सम्बन्ध लगायतका विषयमा छलफल भयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल लगायत नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति थियो ।
 
  
  (ध्रुवराज आचार्य)
  सहायक प्रवक्ता

२०७३ जेठ २५ गते मंगलबार

नेपाली गीत-संगीत क्षेत्रका मूर्धन्य प्रतिभा, राष्ट्रियता र देशप्रेमको भावनाले ओतप्रोत गीत-संगीतका सर्जक तथा नेपाली राष्ट्रिय गानका संगीतकार स्वर्गीय अम्बर गुरुङ्‌को मिति २०७३ साल जेठ २५ गते मंगलबार बिहान भएको दुःखद निधनले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई अत्यन्तै दुःखी र स्तब्ध तुल्याएको छ । उहाँको निधनबाट नेपाली गीत-संगीत क्षेत्रले एक होनहार श्रष्टा र अभिभावक गुमाएको उल्लेख गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले यस दुःखद घडिमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुहुँदै शोकको यस घडिमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गर्नुभएको छ । नेपाली गीत-संगीत क्षेत्रमा उत्कृष्ट योगदानका कारण स्वर्गीय गुरुङ् अमर रहनुहुनेछ भन्नुहुँदै उहाँको आत्माको चीरशान्तिको कामना तथा स्वर्गीय गुरुङ्ले मुलुकलाई लगाउनुभएको गुणको यथोचित कदर हुने विश्वास प्रकट गर्नुहुँदै उहाँको श्रृजनाको संरक्षण र अधुरा सपनाहरु पूरा गर्नेतर्फ नेपाली गीत-संगीत क्षेत्र लाग्नुपर्छ भन्ने अपेक्षा सहित सम्माननीयज्यूले स्वर्गीय गुरुङ्प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
 
  
  (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ जेठ २३ गते आइतबार

मिति २०७३ साल जेठ २३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल आइपुगेको डा. सारिका मेहताको नेतृत्वमा रहेको ४ सदस्यीय भारतीय महिला मोटरसाइकल यात्रीको टोलीबाट शिष्टाचार भेट भयो । "बेटी बचाओ, बेटी पढाओ" अभियानको प्रबर्द्धनका लागि दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया र सिंगापुर सहितका १० मुलुकमा १० हजार किलोमिटरको यो मोटरसाइकल यात्रा ३६ दिनमा पूरा गर्ने गरी नेपालबाट शुरु हुँदै
छ । भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको सन्देशसहित नेपाल आइपुगेको उक्त टोलीलाई सम्माननीय राष्ट्रपतिज्यूले नेपालमा स्वागत गर्नुहुँदै बधाई तथा अभियानको पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूले दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका मुलुकहरुसहित समस्त विश्वमा नै यी र यस्ता महिला उत्थानका कार्यक्रमहरुको सान्दर्भिकता र औचित्यता रहेको उल्लेख गर्नुहुँदै नेपालमा पनि आगामी आ.व. देखि "राष्ट्रपति महिला उत्थान कार्यक्रम" सञ्चालन हुन लागेको बताउनु
भयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, नेपालका लागि भारतीय राजदूत रंजित रे तथा नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति थियो ।
नेपालबाट शुरु भएको यो मोटरसाइकल यात्रा सिंगापुरसम्म गई समाप्त हुने छ । उक्त टोली भोलि मिति २०७३ साल जेठ २४ गते सोमबार बिहान काठमाडौंबाट बनेपा-सिंधुली-बर्दिवास हुँदै भारतको पश्चिम बंगालको बागडोग्रातर्फ प्रस्थान गर्नेछ ।
  
(ध्रुवराज आचार्य)
 सहायक प्रवक्ता
 

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति