राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७३ » २०७३ भदौ

२०७३ भदौ ३० गते बिहीबार

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७३ साल भदौ ३० गते बिहीबारका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यू राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र गणतन्त्र भारततर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री विमलेन्द्र निधिज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।
 
  
  (ध्रवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ भदौ २८ गते मंगलबार

आज मिति २०७३ साल भदौ २८ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय उपराष्ट्रपतिज्यूले आफू असंलग्न राष्ट्रहरुको सत्रौं शिखर सम्मेलनमा भाग लिन भोलि मिति २०७३ साल भदौ २९ गते बुधबारका दिन भेनेजुयलातर्फ जान लागेको अवगत गराउनु भयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले आफू मिति २०७३ भदौ ३० गते बिहीबारदेखि मित्रराष्ट्र गणतन्त्र भारतको भ्रमण गर्न लागेको बताउनुहुँदै भारत भ्रमणको कार्यक्रम लगायत भ्रमणका विविध पक्ष तथा समसामयिक परिस्थितिका बारेमा अवगत गराउनु भयो । भेटका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले उच्चस्तरीय बैदेशिक भ्रमण हुन लागेकोमा खुसी व्यक्त गर्नुहुँदै असंलग्न राष्ट्रहरुको सत्रौं शिखर सम्मेलनको पूर्ण सफलताको कामना गर्नुभयो र दुबै भ्रमण फलदायी हुन सकून् भन्ने शुभेच्छासहित सम्माननीय उपराष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यू दुबैलाई शुभयात्राको कामना गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतज्यू, नेपाल सरकारका मुख्य सचिवज्यू, राष्ट्रपतिको कार्यालयका सचिवज्यू, परराष्ट्र मन्त्रालयका सचिवज्यू लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।
 
     (ध्रुवराज आचार्य)
      सहायक प्रवक्ता

२०७३ भदौ २७ गते सोमबार

आज मिति २०७३ साल भदौ २७ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
सि.नं‌. विवरण
१. सर्वोच्च अदालत ऐन, २०४८ (पहिलो संशोधन) विधेयक, २०७३
२. न्याय परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३
३. न्याय सेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३
४. न्याय प्रशासन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७३ भदौ २३ गते बिहीबार

३७औं राष्ट्रिय शिक्षा दिवस, २०७३ तथा अन्तर्राष्ट्रिय साक्षारता दिवस, २०१६ का अवसरमा आज मिति २०७३ साल भदौ २३ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई नेपाल विद्याभूषण पदक 'क' श्रेणी एवम् प्रमाणपत्र (१९० जना), 'ख' श्रेणी एवम् प्रमाणपत्र (८१ जना), 'ग' श्रेणी एवम् प्रमाणपत्र (१५जना), स्नातक तह तर्फको नेपाल छात्रा विद्यापदक एवम् प्रमाणपत्र (२६जना) तथा प्रमाणपत्र तह तर्फको नेपाल छात्रा विद्यापदक एवम् प्रमाणपत्र (४ जना) प्रदान भयो ।
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७३ भदौ २१ गते मंगलबार

आज मिति २०७३ साल भदौ २१ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गा बहादुर सुवेदीलाई संयुक्त अधिराज्यको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
 
 
     (ध्रुवराज आचार्य)
      सहायक प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति