राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ चैत्र

२०७२ चैत्र १६ गते मंगलबार

आज मिति २०७२ साल चैत्र १६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले  शिष्टाचार भेट गर्नुभयो । सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूको समेत समुपस्थिति रहेको उक्त भेटघाटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका विविध पक्ष र भ्रमणमा भएका दुई देशबीचको पारवहन सम्झौता लगायतका महत्वपूर्ण उपलब्धीहरु तथा अन्य समसामयिक विषयहरुमा विस्तृत जानकारी गराउनुभएको थियो । सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय उपराष्ट्रपतिज्यूले भ्रमण सफल भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारलाई बधाइ तथा धन्यवाद व्यक्त गर्नुहुँदै भएका उपलब्धिलाई यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने कुरामा जोड दिनुभयो । भेटमा नेपाल सरकारका उच्च सरकारी पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
 
 
   (खडानन्द ढकाल)
       प्रवक्ता

२०७२ चैत्र ११ गते बिहीबार

आज मिति २०७२ साल चैत्र ११ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका मित्रराष्ट्र संघीय गणतन्त्र जर्मनीको संघीय संसदका विभिन्न राजनीतिक दलका सभासदहरु Ms. Dagmar G. Wohrl, Mr. Jurgen Klimke, Mr. Stafan Rebmann, Ms. Haike Hansel र Mr. Uwe Kekeritz को समूहबाट शिष्टाचार  भेट भयो । उक्त भेटघाटमा दुई अभिन्न मित्रराष्ट्रका रुपमा नेपाल र संघीय गणतन्त्र जर्मनीबीचको आपसी सम्बन्ध, सहयोग र पारस्परिक हितका बारेमा चर्चा हुनुका साथै आपसी सहयोग र मित्रतालाई थप सुदृढ बनाउँदै जानुपर्ने विषयमा छलफल भयो । भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषयवस्तु बनाइएको यस भेटघाटमा नेपाल र जर्मनीका बीचमा रहेको हार्दिक सम्बन्धका कारणले जर्मनीको सरकार, जनता र संघसंस्थाहरु समेत नेपाललाई सघाउन तयार रहेको कुरो व्यक्त भयो । भेटमा नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत Mr. Matthias Meyer, नेपाल सरकार र नेपालस्थित जर्मन राजदूतावासका उच्च अधिकारीहरुको समेत उपस्थिति थियो ।
 
  
  (खडानन्द ढकाल)
       प्रवक्ता

२०७२ चैत्र १० गते बुधबार

आज मिति २०७२ साल चैत्र १० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बौद्धदर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिबाट बौद्ध तीर्थस्थलहरुको भ्रमणमा रहेका बौद्ध धर्मगुरु (लामा), खेन्पो, भिक्षु, भिक्षुणी तथा आनीहरु सहितको एक समूहबाट शिष्टाचार भेट भयो । विगत ४० वर्षदेखि हरेक वर्ष हुने गरेको उक्त भेटका क्रममा  बौद्ध धर्म तथा बौद्धदर्शन, शान्ति र अहिंसा अभियान तथा यसमा बौद्ध गुरु (लामा), भिक्षु र आनीहरुको भूमिकाका बारेमा चर्चा हुनुका साथै गुम्बा विकास समितिबाट हाल भइरहेको भ्रमण एवम् यसका उद्देश्य तथा क्रियाकलापहरुका बारेमा छलफल भयो । उक्त अवसरमा बौद्धदर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष कर्मा छिरिङ टासी लामाले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष थाङ्‌का उपहार तथा मागपत्र समेत प्रस्तुत गर्नुभएको थियो । आनी निश्चल पाख्रिनले अत्यन्तै भावमय ढंगमा यात्राको अनुभूति प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले बौद्धदर्शनका शिक्षालाई व्यवहारोपयोगी बनाउन जोड दिँदै अबमात्र सही यात्राको प्रारम्भ भएको बताउनु भयो । भेटमा राष्ट्रपतिको कार्यालय सम्बद्ध उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।
 
   (खडानन्द ढकाल)
        प्रवक्ता

२०७२ चैत्र ७ गते आइतबार

आज मिति २०७२ साल चैत्र ७ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल र संयुक्त अधिराज्यको कूटनीतिक सम्बन्ध कायम भएको द्विशतवार्षिकीका अवसरमा संयुक्त अधिराज्यका महारानीको विशेष दूतका रुपमा नेपालको भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका राजकुमार Henry Charles Albert David ले शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका क्रममा दुई देशबीच इतिहासदेखि रहिआएको आपसी सम्बन्ध, सहयोग र हितको विषयमा कुराकानी हुनुका साथै नेपालको पर्यटन विकास, गोर्खा सैनिकको इमान र वहादुरी, जलवायु परिवर्तन, महिला तथा वालवालिका अधिकार र वातावरण संरक्षण लगायतका विविध शीर्षकमा चर्चा गरिएको थियो । उक्त अवसरमा दुई मुलुकबीच रहेको हार्दिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउँदै जानुपर्ने बिषयमा समेत छलफल भएको थियो । भेटमा नेपालका लागि संयुक्त अधिराज्यका महामहिम राजदूत Mr. Richard Morris लगायत दुबै देशका उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।
 
 
   (खडानन्द ढकाल)
        प्रवक्ता

२०७२ चैत्र ७ गते आइतबार

आज मिति २०७२ साल चैत्र ७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा आजैका दिन मित्रराष्ट्र जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोक्नु भएको छ ।
 
    (खडानन्द ढकाल)
       प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति