राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ माघ

२०७२ माघ २६ गते मंगलवार

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको २०७२ साल माघ २६ गते भएको असामयिक निधनको समाचारले सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा उहाँले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहनेछ भन्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले स्वर्गीय कोइरालाले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्नुभएको छ । यस्ता राजनीतिज्ञलाई गुमाउनु पर्दा मुलुकलाई अपुरणीय क्षति पुग्न गएको व्यहोरा उल्लेख गर्दै सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र सम्बद्र्धन कार्यमा समर्पित गर्नु भएका दिवंगत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

खडानन्द ढकाल
प्रवक्ता

२०७२ माघ २७ गते बुधबार

आज मिति २०७२ साल माघ २७ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भूटानका गृह तथा सांस्कृतिक मामिला मन्त्री महामहिम  Lyonpo Dawa Gyeltshen ले शिष्टाचार भेट गर्नुभयो । उक्त भेटघाटमा नेपालका लागि भूटानका महामहिम राजदूत V. Namgyel लगायत अन्य वरिष्ठ भूटानी अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । मन्त्री Gyeltshen पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद निधनप्रति समवेदना प्रकट गर्न आजै नेपाल आउनु भएको थियो ।
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७२ माघ २२ गते शुक्रबार

आज मिति २०७२ माघ २२ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आ.व. २०७१/७२ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७२ माघ २१ गते बिहीबार

आज मिति २०७२ साल माघ २१ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्री धनहर्क राई (होमटाङ्ग- ८, भोजपुर), श्री सुशील प्याकुरेल (कलंकी, काठमाडौं), डा. मदनकुमार भट्टराई (कालिकास्थान, काठमाडौं), डा. मीना आचार्य (का.म.पा.- १०, वानेश्वर, काठमाडौं), श्री जगन्नाथ महासेठ (जनकपुर - ९, धनुषा) र श्री माधव शर्मा (पोखरा - ७, कास्की) लाई विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।
 
 
   (खडानन्द ढकाल)
        प्रवक्ता

२०७२ माघ २१ गते बिहीबार

आज मिति २०७२ साल माघ २१ गते विहीवारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका The World Taekwondo Federation का अध्यक्ष Dr. Chungwon Choue सहितको टोलीबाट  शिष्टाचार भेट भयो । भेटका अवसरमा अध्यक्ष Dr. Chungwon Choue ले नेपालमा हालै गएको भूकम्पबाट प्रभावित क्षेत्रका तेक्वान्दो खेलाडी र वालवालिकाको विकासका लागि सहयोग गर्ने उद्देश्यले नेपाल भ्रमणमा रहेको  जानकारी गराउनुभयो र सम्माननीय राष्ट्रपति समक्ष तेक्वान्दो खेलको सर्वोच्च वेल्ट (9 Don Black Belt) प्रदान गर्नुभयो । नेपाल तेक्वान्दो संघका पदाधिकारीहरु समेतको उपस्थिति रहेको उक्त भेटघाटमा सम्माननीय राष्ट्रपतिले संघले नेपालका भूकम्प प्रभावित क्षेत्रमा गर्न लागेको सहयोगका लागि धन्यवाद दिंदै आगामी साग गेममा (South Asian Games) नेपाली टोलीको सफलताको कामना गर्नु भएको  छ ।
 
 
   (खडानन्द ढकाल)
         प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति