राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७३ » २०७३ साउन

२०७३ श्रावण ३२ गते मंगलबार

आज मिति २०७३ साल श्रावण ३२ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले काभ्रे जिल्लाको विर्तादेउराली तथा वैतडीको सिद्धेश्वर वृन्दावनमा भएका दुई छुट्टाछुट्टै वस दुर्घटनामा हुनगएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले शोकसंतप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । विगत केही समयदेखि यसप्रकारको सडक दुर्घटनाको क्रम बढेको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूले भविष्यमा यस्ता दुःखद घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुभएको छ ।
 
 
     (केशव प्रसाद घिमिरे)
        सहायक प्रवक्ता

२०७३ श्रावण ३० गते आइतबार

आज मिति २०७३ साल श्रावण ३० गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीहरुज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
तपसिल
क्र.सं. नाम थर पद कार्यविभाजन
१. श्री जनार्दन शर्मा मन्त्री ऊर्जा
२. श्री हितराज पाण्डे मन्त्री सङ्घीय मामिला तथा स्थानीय विकास
३. श्री सुरेन्द्रकुमार कार्की मन्त्री सूचना तथा सञ्चार
४. श्री धनिराम पौडेल मन्त्री -
५. श्री अजय शंकर नायक मन्त्री कानून, न्याय तथा संसदीय मामिला
 
 
 
     (ध्रुवराज आचार्य)
     सहायक प्रवक्ता

२०७३ श्रावण २८ गते शुक्रबार

आज मिति २०७३ साल श्रावण २८ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र संयुक्त अधिराज्य (UK) का महामहिम राजदूत Mr. Richard Morris ले भेट गर्नुभई The Brigade of Gurkhas को सन् २०१५ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो र सो प्रतिवेदनको बारेमा संक्षिप्त रुपमा अवगत गराउनुभयो ।
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ श्रावण २७ गते बिहीबार

आज मिति २०७३ साल श्रावण २७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको SAARC Regional Women Community Leaders' Alliance को श्री चाँदनी जोशीको नेतृत्वको १४ सदस्यीय टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा SAARC क्षेत्रका महिलाहरुको सशक्तीकरण, सवलीकरण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा कुराकानी भयो ।
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ श्रावण २७ गते बिहीबार

आज मिति २०७३ साल श्रावण २७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको China Institutes of Contemporary International Relations (CICIR) का अध्यक्ष Mr. Zhi Ye को नेतृत्वको पाँच सदस्यीय टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल चीनबीचको ऐतिहासिक कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आर्थिक, सामाजिक, साँस्कृतिक एवं व्यापारिक सम्बन्ध लगायतका विषयमा कुराकानी भयो ।
 
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति