राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७३ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

Monday, 19 Sep, 2016


नेपाली जनताको लामो संघर्ष, बलीदान र प्रतीक्षापछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‌भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनुपर्छ र यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुनुपर्दछ  ।
नेपाली जनताले पटकपटक गरेका विभिन्न आन्दोलनपछि प्राप्त नेपालको संविधान, २०७२ ले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ । संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई समृद्ध नेपालको सपना बोकी देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा हामी सबैमाझ सुम्पेको छ ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । तसर्थ, राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्षमा सिंगो मुलुक आन्तरिक स्रोत र साधनको अतिरिक्त बाह्य सहयोग समेतको अत्यधिक सदुपयोग गर्दै कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रबर्द्धनमा केन्द्रित हुनु पर्दछ ।
अन्त्यमा, वर्तमान संविधानको कार्यान्वायनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आव्हान गर्दछु ।
धन्यवाद !
मितिः २०७३ साल असोज ३ गते सोमबार ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति